तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज भित्रिने मालवाहक सवारी साधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परिक्षण गर्न माग

बीरगंज । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मुलुकको प्रमुख नाका बीरगंज भन्सार तथा आईसिपी भन्सारबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य रुपमा भरपर्दो स्वास्थ्य परीक्षण हुनुपर्ने माग बीरगंजबाँसीले गरेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारी साधनका चालक तथा सहचालकको भरपर्दो रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग उनिहरुको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताले बताउनुभयो ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको र बीरगंजमा समेत संक्रमित भई चार जनाको नारायणी अस्पतालको आईसोलेसनमा उपचार भइरहेको अवस्थामा नेपाली जनतालाई यसको सङ्क्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारी साधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य भरपर्दो स्वास्थ्य परीक्षणको व्यवस्था हुनु पर्ने कुरामा गुप्ताले जोड दिनुभयो ।

विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण भएको देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारी साधनका चालक तथा सहचालबाट पनि सङ्क्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको कारण यसतर्फ सम्बन्धित निकाय सचेत हुनु पर्ने कुरामा नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जोड दिनुभयो ।

गत चैत्र ११ गते देखि जारी लकडाउनको कारण दैनिक आपूर्तिका सामानमा समेत परनिर्भर भएको नेपालमा आयात गरिने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरु पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने माग बीरगंज बाँसीको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button