तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनएले डेढ दर्जन देशमा करिव तीन हजारलाई राहत वितरण

काठमाडौँ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डेढ दर्जन देशका करिब तीन हजार नेपालीहरुलाई राहत वितरण गरेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित देशहरुमा गैरआवासीय नेपाली संघ एनआरएनए) ले विश्वका बिभिन्न देशमा समस्यामा परेका बिद्यार्थीहरु, काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै संघले राहत बितरणलाई तिव्रता दिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा ’कोभिड–१९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार डेढ दर्जनभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु सक्रिय रहेको बताउनुभयो ।

एनआरएनए अष्ट्रेलियाले तीन सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ । संघका महासचिव ज्ञानेन्द्र रेग्मीले हालसम्म २० हजार डलरको दाल, चामल, चिनी लगायत दैनिक खाद्यान्न किनेर वितरण गरेको जानकारी दिनुभयो ।

हाल अष्टेलियामा एक हजार दुई सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गर्नुभएको छ । ५० हजार डलरको राहत कोष बनाएर राहत बितरणलाई तिव्र पारेको महासचिव रेग्मीले जानकारी दिनुभयो ।

एनआरएनए अमेरिकाले करिब चार सय जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको जनाएको छ ।

संघका अध्यक्ष सुनिल शाहका अनुसार उनीहरुलाई दाल, चामल, पिठो, चिनी लगायत दैनिक खाद्यान्न सामग्रीहरु वितरण गरिएको हो ।

भौतिक सामग्री लगायत दैनिक टेलिफोन सेवा पनि संघले उपलव्ध गराएको छ । पछिल्लो दुई सातमा करिब दुई हजार नेपाली कानूनी तथा जनचेतना कार्यक्रमबाट लाभान्दित भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । एनआरएनए अमेरिकाले १४ हजार डलर आर्थिक संकलन गरेको छ ।

एनआरएनए अफ्रिकाले क्षेत्रीय कोषको स्थापना गरेर हालसम्म कोषमा १० हजार डलर जम्मा गरेको छ ।

साईप्रसमा ५ देखि ७ हजार बिद्यार्थीहरु समस्यामा परेपछि एनआरएनए साईप्रसले घर(घरमै राहत पुर्याउने ब्यवस्था गरेको छ ।

संघका प्रबक्ता दिनेश गौतमका अनुसार चार सय ५६ जना बिद्यार्थीहरुले राहत पाईसकेका छन । त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले आँफूहरु नेपाल फर्कन चाहेको ईच्छा व्यक्त गर्दै नेपाली राजदूताबास इजरायलमार्फत नेपाल सरकारलाई घर फर्काउन अनुरोध समेत गरेका छन् ।

गैरआवासीय नेपाली संघ यूएई अध्यक्ष प्रकाश कोराइराका अनुसार गत सातादेखि हालसम्म एक हजार भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

यस्तै गैरआवासीय नेपाली संघ कतारले तीन सय भन्दा बढी कोरोना पिडितलाई राहत वितरण गरेको संघले जनाएको छ ।
एनआरएनए स्पेनले एक सय ६७ जना, पोर्चुगलले एक सय ३३ जना, इटालीले २० जना नेपालीहरुलाई राहत बितरण गरिसकेको छ ।

फ्रान्स, अष्ट्रिया, बहराइन, साउदी अरब, क्यानाडा, अमेरिका, हङ्गकंङ्ग लगायतका देशहरुमा पनि राहत वितरण कार्य सुरु भइसकेका छन ।

हालसम्म करिब तीन हजार गैर आबासीय नेपालीहरुले राहत प्राप्त गरेका र आगामी हप्तामा अझ तिव्रता दिने गरी तयारी रहन सबै एनसीसीहरुलाई आग्रह गरेका छन् ।

यसअघि दक्षिण कोरिया र हङ्गकङ्ग, अष्ट्रेलिया लगायतका देशहरुले स्वास्थ्य सामग्री समेत वितरण गरेको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक, चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button