तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

वासिङ्टन डिसी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गर्नु भएको छ ।

“मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ,” ट्रम्पले भन्नुभएको छ । यद्यपि नयाँ निर्देशिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्धहरु यथावत रहने उल्लेख छ ।

“ओपनिङ अप अमेरिका” नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराउनु भएको छ । उक्त निर्देशिकामा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ । लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनु पर्ने पूर्वशर्त राखिएको छ ।

पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा “सामाजिक दूरी” को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ । साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ । यसबाहेक, “अत्यावश्यक बाहेक” को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ ।

तेस्रो चरण अन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ । ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा “सबैभन्दा ठूला परिवर्तन” सामना गर्नु पर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नु पर्नेछ ।

बिहीबार साँझसम्म संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६ लाख ८० हजारको हाराहारीमा पुगेको छ भने ३४ हजारभन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गत बुधबार अमेरिकामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गर्नु भएको थियो । तर अमेरिकामा विगत तीन दिनदेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button