तपाईँ सुन्दै हुनुहुन्छः

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन

वासिङ्टन – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ ।

कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ । कोरोनाभाइरस महामारीका कारण पाकिस्तानको अर्थतन्त्र चालू आर्थिक वर्षमा १।५ प्रतिशतले संकुचित हुन सक्ने अनुमान गरिएको छ ।

कोषको विज्ञप्तिमा भनिएको छ, “कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा ठूलै असर सिर्जना गर्दैछ । विश्वव्यापी मन्दीको साथसाथै पाकिस्तान सरकारले अवलम्बन गरेका रोकथामका उपायहरूले अर्थतन्त्रको वृद्धिमा गम्भीर दूस्परिणाम निम्त्याएको र बाह्य भुक्तानी सन्तुलनमा तनावको वातावरण सिर्जना गरेको छ । यसले भुक्तानीको सन्तुलनका लागि तत्काल आर्थिक सहायता जरुरी भएको देखिएको छ ।”

कोविड–१९ महामारी आउनुअघि नै पाकिस्तान सरकारले कोषसँग भुक्तानी सन्तुलनमा सिर्जित समस्या सुल्झाउन ठूलो आर्थिक सहायताको माग गरिरहेको थियो । पाकिस्तानमा आर्थिक सुधारका कार्यहरुको कोषद्वारा विज्ञ सम्मिलित स्थलगत अध्ययन गरिए पनि कोषद्वारा अघि सारिएका कतिपय शर्तहरुमा पाकिस्तान सरकार सहमत हुन सकेको थिएन ।

अध्ययनहरुले कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा गम्भीर असर पार्न लागेको देखाएका छन् । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ ।

पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रुपैयाँको एक राहत प्याकेज मार्च २४ मा घोषणा गरेको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button