तपाईँ सुन्दै हुनुहुन्छः

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

बागलुङ। गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ ।

स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले टेउवामा कार्यशाला चलाउने योजना ल्याएपछि स्थानीयवासी जग्गा दिन तयार भएका थिए ।

जग्गाको जोहो भएसँगै कार्यशालाका लागि पूर्वाधार तयारीको कामले गति लिएको थियो । कार्यशालास्थलमा सडक, भवन, शौचालयलगायतका संरचना बनिसकेका छन् । खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अन्तिम चरणमा पुगेको छ ।

कार्यशालामा मूर्ति कुँद्न योग्य ढुङ्गा वडा नं ३ हटियाका दीपक बोहराले निःशुल्क उपलब्ध गराउनुभएको छ । बोहरागाउँको सहस्रधारा क्षेत्रबाट दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा सङ्कलन गरिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताउनुभयो । “तीनै तहका सरकारदेखि सर्वसाधारण व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ”, उहाँले भन्नुभयो ।

आर्थिक वर्ष ०७३÷०७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि कूल रु दुई करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट विनियोजन गरेको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।

चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ ।

यस्तै, व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीसबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख दश हजार, यमबहादुर श्रीसबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ ।

“एक लाखभन्दा तल सहयोग गर्ने धेरै हुनुहुन्छ, काठमाडौँ, पोखरामा पनि सहयोग अभियान चलिरहेको छ”, प्रतिष्ठानका अध्यक्ष रानाले भन्नुभयो, “हामीले झण्डै रु एक करोड जति थप बजेट व्यवस्थापन गर्नुपर्ने भएको छ ।”

कार्यशालामा स्वदेशी र विदेशीसहित १५ मूर्तिकार भाग लिँदैछन् । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुनेछ ।

यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेल कार्यशालामा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालामा सहभागिताका लागि अन्तरराष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी २०५ जना मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।

अन्तरराष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताउनुभयो । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो ।

“विदेशबाट कलाकारहरु आउनलाई टिकटसमेत निश्चित भइसक्यो”, संयोजक खत्रीले भन्नुभयो, “हामी सबै फागुन ४ गते नै कार्यशालास्थलमा पुग्छौँ, ५ गते औपचारिक शुभारम्भ हुन्छ ।” कार्यशालामा सहभागी हुने मूर्तिकारलाई फागुन १३ गते गलकोटका पर्यटकीयस्थल भ्रमण गराइने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

अन्तरराष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय, कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । नेपाल भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button