तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिलाको सहारा बन्दै बकैया गाउँपालिका

मकवानपुर। स्थानीय तहमा सरकार गठनपछि आम नागरिकले सबैखाले सेवा सुविधा नजिकको सरकारबाटै प्राप्त गरिरहेका छन् । स्थानीय तहहरुले संविधानले प्रत्याभूत गरे अनुसार आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै खाले समस्यामा ध्यान दिएर काम गरिरहेका छन् ।
मकवानपुरको बकैया गाउँपालिकामा स्थानीय सरकारले यस्तै उदाहरणीय काम गरेको छ । मकवानपुरको पुर्वी बकैया गाँउपालिकाले एकल महिलाहरुको आय आर्जन बृद्धि गर्ने उद्देश्यकासाथ आर्थिक सहयोग गरेको छ । एकल महिलाहरुको आय आर्जनमा महिला सहभागिता बृद्धिसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यकासाथ गाउँपालिकाले अनुदान सहयोग गरेको हो ।
गाउँपालिकाका हरेक वडामा रहेका एकल महिलाहरुको समुह बनाएर प्रत्येक समुहलाई १० हजारका दरले अनुदान प्रदान गरेर उनीहरुको आर्थिक विकासँगै आतमनिर्भर बनाउन सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।
प्रत्येक समुहमा १० जना सदस्य रहेको र उनीहरुले उक्त रकम सामुहिक अथवा व्यक्तिगत समेत व्यवसायिक क्षेत्रमा लगानी गर्नसक्ने उहाँले बताउनुभयो । तर व्यक्तिगत रुपमा रकम खर्च गर्दा एक जनाले ३ देखि बढीमा ६ महिना सम्म मात्र रकम परिचालन गर्न पाउने उहाँले बताउनुभयो ।
गाउँपालिकाले महिलाको क्षेत्रमा लगानीले ल्याउनेछ उनीहरूको जीवनमा सुनौलो बिहानी भन्ने उद्देश्यकासाथ उनीहरुलाई प्रोत्साहन स्वरुप अनुदान प्रदान गरेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।
१२ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ८, ९ र १० मा एक÷एक वटा तथा वडा नम्बर ७ मा दुईवटा समुह निर्माण गरिएको छ । प्रत्येक समुहलाई १० हजारका दरले अनुदान प्रदान गर्नुका साथै उनीहरुलाई बचत, ऋण र मासिक बैठक गर्नका लागि रजिष्टर समेत उपलब्ध गराईएको उपाध्यक्ष बोलखेले बताउनुभयो ।
अनुदान पाउने एकल महिलाहरुले कुखुरा पालन, सिलाई पसल, बाख्रा पालन, व्यवसायिक तरकारी खेतीलगायतमा लगानि गर्ने योजना बनाएको उहाँले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यस्ता अनुदानबाट उत्कृष्ट काम गर्ने समुहलाई थप प्रोत्साहन गर्ने कार्यक्रम समेत बनाएको उपाध्यक्ष बोलखेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button