तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस र राजपाले गरे आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुको अवरोधका कारण स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरुले उभिएर अवरोध गर्नुभएको थियो ।
सभामुख महराले संसदको प्रक्रिया अघि बढाउन खोज्दा काँग्रेस र राजपा नेपालका सांसदहरुले सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठनको माग गर्दै रोष्टममा पुगी नारावाजी गर्नु भएको थियो ।
प्रमुख प्रतिपक्षी दलले सर्लाहीमा प्रहरीको कारवाहीमा मारिएका विप्लब समुहका जिल्ला इन्चार्ज कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानविन सर्न संसदीय समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले नारावाजी गर्दै संसद अवरुद्ध गरेपछि सभामुख महराले संसदमा सबै सांसदहरुलाई बोल्ने अधिकार सुनिश्चित नभएसम्म संसदीय सर्वोच्चता कायम नहुने भन्दै प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्नुभएको थियो ।
सभामुख महराले अदालतमा विचाराधिन विषयमा नबोल्न प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह गर्नु भयो ।
सभामुख महराले प्रतिपक्षीले उठाएको विषय सरकारसम्म पु¥याउन बैठक चल्नु पर्ने र छलफलको वातावरण बन्नु पर्ने भन्दै सदनको अवरोध अन्त्य गरेर छलफलको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
सभामुखको पटक पटकको आग्रह पछि पनि प्रतिपक्षीदलका सांसदहरुले लगातार अवरोध जारी राखेपछि सभामुख महराले प्रतिनिधिसभाको बैठक साउन १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गर्नुभएको थियो ।
यस अघि आज विहानैदेखि सभामुख महराले सदनमा जारी अवरोध हटाउन सत्ता पक्ष र प्रतिपक्षका दलका नेताहरुसँग छलफल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button