तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री डा सिंहको सम्झना

सप्तरी-पूर्वमन्त्री डा नागेश्वरप्रसाद सिंहको मार्गलाई सबैले आत्मसात गरे मुलुक समृद्धि तर्फ लाग्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । नेपाल विश्व शान्ति समितिद्वारा स्व सिंहको ९३औँ जन्मजयन्तीका अवसरमा आयोजित स्मृतिसभाका वक्ताहरुले सो कुरा बताउनुभएको हो ।

शिक्षा, स्वास्थ्य र विकासलाई सबैको पहुँचसम्म पु¥याउन जीवनपर्यन्त प्रयत्नरत रहनुभएका विकासप्रेमी, शान्तिप्रेमी र शिक्षाप्रेमी स्व सिंहको जीवनीले नयाँ पुस्तालाई सामाजिक रूपान्तरणको अभियानका लागि सधै प्रेरणा दिइरहेको वक्ताहरुले विचार व्यक्त गर्नुभयो । नेपाल विश्व शान्ति समितिका महासचिव मधुबहादुर बिसी, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, वरिष्ठ पत्रकार अनिल अनल, राजविराज नगरपालिकाका पूर्वप्रमुख शैलेश चौधरी, नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पूर्वक्याम्पस प्रमुख प्रा डा चिरञ्जीवीलाल देव, सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, बौद्धिक अपाङ्ग अभिभावक सङ्घका अध्यक्ष जगदीश अर्याल, पत्रकार विष्णु मण्डल र अरुण तिवारीलगायतले सिंहको योगदानको चर्चा गर्नुभयो ।

सप्तरीको कोइलाडी गाविस–३ मा सन् १९२६ जुलाई २७ तारिखमा जन्मनुभएका डा सिंह चिकित्सा पेशा छाडी नेपाली काङ्ग्रेसका तर्फबाट विसं २०१५ मा सप्तरीबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । डा तुलसी गिरीसँगै पञ्चायत प्रवेश गर्नुभएका सिंह विसं २०१७ पुस १३ मा गिरीकै नेतृत्वमा गठित मन्त्रिमण्डलमा अर्थ सहायकमन्त्री, विसं २०१९ असार १८ गते स्वास्थ्य, बिजुली र नहरमन्त्री तथा विसं २०२० चैत २७ मा निर्माण, सञ्चार, यातायात तथा स्वास्थ्यमन्त्री रहनुभयो ।

यसैगरी विसं २०१९ देखि २०२४ सम्म स्नातक संसदीय क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा विधायकको रूपमा प्रतिनिधित्व गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग बनाउने योजनाले तराई नभेट्टाएको भन्दै राजा महेन्द्रसँग विमति राख्दै राजनीतिबाट अलग भएका सिंह त्यसपछि सामाजिक सुधारको अभियानमा लाग्नुभयो । विसं २०२० भदौ १९ गते डा सिंहकै अध्यक्षतामा बसेको भेलाले नेपाल रेडक्रस सोसाइटी स्थापना भयो ।

लायन्स क्लब सप्तरीका संस्थापक रही लायन्स क्लबका डिस्ट्रिक गभर्नर ३२५ समेत बन्नुभएका सिंह नेपाल मेडिकल एशोसिएसन तथा क्षयरोग निवारण संस्थाका पनि संस्थापक हुन् । विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित ‘विश्व शान्ति परिषद्’ को सन् १९७६ मा उपाध्यक्ष निर्वाचित भएका सिंहले विसं २०३३ मा नेपाल विश्व शान्ति समिति गठन गर्नुभयो । चिकित्सकहरूको सर्वोच्च छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको अध्यक्ष भई नेतृत्व प्रदान गर्नुका साथै नेपाल क्षयरोग निवारण सङ्घको समेत उहाँ अध्यक्ष बन्नुभयो । विसं २०६७ साउन २ गते ८५ वर्षको उमेरमा उहाँको निधन भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button