तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाउँदा चारजनाको मृत्यु, दर्जनौ बेपत्ता

सरोज विश्वकर्मा, लमजुङ । लमजुङको दोर्दीखोलामा आज दिउँसो बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढि सम्पर्क विहिन छन् ।

बाढीले बगाएकामध्ये दोर्दी गाउँपालिकाको वडा नं. ४ शेरापुल नजिकै दुई जनाको शव फेला परेको छ भने किर्तीपुर भन्ने ठाउँमा दुईजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । मनाश्लु हिमाल काखबाट बगेको नदिमा मुहान वरपर पहिरोका कारण बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

दोर्दी वडा नं. ६ ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत आयोजनाको टनेलमा बाढी पस्दा ३ जना बेपत्ता भएका छन् । टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुर मध्ये १४ जनाको सकुसल उद्दार गरिएको र हराइरहेका ३ जना मजदुरको खोजी भइरहको आयोजनाका प्रवद्र्धक केशव रायमाझीले बताउनुभयो ।

बाढीले आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटर लगायतका सामाग्री बगाएको रायमाझीले बताउनुभयो ।

यसैगरी बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित दोर्दी जलविद्युत आयोजनाका कार्यरत १५ भन्दा बढि मजदुरहरु पनि हराइरहेका छन् ।

आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले आफ्नो जलविद्युत आयोजनामा कतिजना मजदुर हराएका छन भन्ने एकिन जानकारी नै पाउन नसकेको हाम्रा समाचारदाता सरोज विकले जनाएका छन् ।

आयोजनाको बाँध क्षेत्र निर्माणको क्रममा खोला नजिकै आवास बनाएर बसेका मजदुरहरुलाई बाढीले बगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button