तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंमा आप्रवासी कामदारको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिकमा काठमाडौँमा ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।
आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँच जस्ता विषयमा सम्बोधन गर्न आगामी कात्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको हुनाले नेपाल तथा दक्षिण एसियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौँ कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।
आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक र गन्तव्य मुलुकमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्थाका पदाधिकारी सहभागी हुने जानकारी आयोगले दिएको छ ।
आयोगले सम्मेलनको तयारीका लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button