तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा सम्बादमा जलबायू प्रमुख विषय हुने : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताउनुभएको छ । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन, अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ।’
प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताउनुभयो । “जलवायु परिवर्तनकै कारण बालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।”
“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”
सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button