तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा र रौतहटमा बेपत्ता भएकामध्ये ७ जनाको शव फेला

बीरगञ्ज । अबिरल बर्षाका कारण बाढीले बगाएर तथा डुवानमा परी बारा, पर्सा र रौतहटमा बेपत्ता भएकामध्ये ७ जनाको शव आज फेला परेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ निवासी नारायण पटेलका १४ बर्षिय छोरा अनुप पटेललाई हिजो चरइफवा खोलाले बगाएर बेपत्ता बनाएकोमा आज दिउँसो बालकको शव फेला परेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बताउनुभयो ।
बेपत्ता बालकको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलासको क्रममा आज खोला किनारमा शव फेला पारेका थिए ।
यसैगरी वाराको कलैया उपमहागनरपालिका वडा नम्बर १३, बलिरामपुर निवासी हजारी साह गोढका १० बर्षिय छोरा अजित साह गोढको बाख्रा चराउन गएको बेला हिजो साँझ ६ बजे घर नजिकैको सडकमा खनिएको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता रन्जित सिंह राठौरले बताउनुभयो ।
यस्तै, रौतहटको गौर नगरपालिकासहित आसपासका एकदर्जनभन्दा बढी गाउँमा मौसममा सुधार आएसँगै आज पानीको सतह घटेपछि बाढीले बेपत्ता भएकामध्ये पाँच जनाको शव फेला परेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, रौतहटको यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत र उमेश राउतको शव फेला परेका छ ।
रौतहटमा अझै गढिमाई नगरपालिकाकी आनन्दी देवी र इशनाथ नगरपालिकाका राम पुकारको शव फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button