तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा पहिरोबाट दुईको मृत्यु, नौजनाबेपत्ता

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१, काशिल खोलामा शनिबार गएको पहिरोबाट दुईजनाको मृत्यु भएको छ भने नौजना बेपता रहेका छन् ।
पहिरोमा मृत्यु भएका ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको शव फेला परेको छ ।
गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार, पहिरोमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित नौ जना हुनसक्ने अनुमान गरिएको छ ।
घट्टामा अन्न पिस्न गएका उनीहरु पहिरोमा परेका थिए ।
सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोलीले शनिबार बेलुकी नै घटनास्थल गएको भए पनि आज बिहान मात्र पुगेको उहाँले बताउनुभयो ।
शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् ।
पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ ।
घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button