तपाईँ सुन्दै हुनुहुन्छः

माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट

काठमाडौँ । श्रीलंका भ्रमणमा रहनुभएका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुग्नुभएको थियो ।
नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटघाट भएको नेता नेपालको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।
लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो ।
असार २३ गते कोलम्बो प्रस्थान गर्नुभएका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button