तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमको द्वन्द्वप्रभावित गाउँमा पुग्यो सडक

रुकुम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको द्वन्द्वप्रभावित गाउँ पिपलमा सडक पुगेको छ । २ नम्वर वडाको घट्टलाईखाली रुखाबाङसम्म गाडी पुगेको हो । पूमा–मेलगैरी सहिद स्मृति पार्क–लामाचौर–दयाडाडा, मेलगैरी–भाटी–पातिहाल्ना सडक अन्तर्गत यो वर्ष दयाडाडादेखि घट्टलाईखाली खण्ड निर्माण सम्पन्न भएको छ । साविक पीपल गाविस अर्थात् हालको बाँफिकोट गाउँपालिका २ को मेलगैरीमा द्वन्द्वकालमा सरकारी सुरक्षा फौजबाट माओबादीको शुभेच्छुकको आरोपमा सर्बसाधरण ६ जना खत्रीबन्धुको सामुहिक हत्या गरिएको थियो ।
यो वर्ष जिपु–मेलगैरी कृषि सडक नामबाट बजेट आएको थियो । यसैगरी पूमाखोलाको मुरदेखि गोपिगौंसम्मको खण्ड पनि निर्माण सम्पन्न भएको छ । कर्णाली प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्रको ३४ लाखको अनुदानमा उक्त दुवै खण्ड निर्माण सम्पन्न भएको निर्माणको जिम्मा लिएको विवेक श्रम सहकारीका अध्यक्ष कर्णबहादुर खत्रीले बताए ।
५ वर्ष अघि निर्माण थालिएको उक्त सडक खण्ड चालु आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । साविक पिपल गाविस हुँदै उक्त सडक निर्माण थालिएको थियो । पिपल गाविस र जिल्ला विकास समितिको बजेटबाट सडक निर्माण सुरु गरिएको थियो । सुरुको वर्ष केही दुरी मात्रै सडक निर्माण गरिएपनि लामो समयपछि अघिल्लो वर्षदेखि उक्त सडकमा बजेट आउन थालेको हो ।
उक्त कृषि सडकलाई पातिहाल्न सम्म पु¥याउने योजना उहिल्यै बनाइएको हो । साविकको गाविस हुँदा सर्वदलिय समितिले नै पातिहाल्न सम्म सडक पु¥याउने र त्यस क्षेत्र र आसपासको कृषि उत्पादन बजार पु¥याउने निर्णय गरेको थियो । यो वर्ष घट्टलाईखालीसम्म सडक पुगेको र अर्को वर्ष बजेटको व्यवस्था हुन सकेको खण्डमा सडक निर्माणलाई अघि बढाइने वडाध्यक्ष धनबहादुर खत्रीले बताए । ‘यो वर्षको बजेट सकिएको छ, आगामी वर्षमा बजेट परेको सन्दर्भमा यो सडकलाई अघि बढाउने लक्ष छ,’ वडाध्यक्ष खत्रीले भने, । कृषि ज्ञान केन्द्र रुकुम पश्चिमका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जिपु–मेलगैरी कृषि सडक समयमै निर्माण सम्पन्न भएको बताए । सडकले उत्पादित वस्तु बजार पु¥याउन तथा अरु दैनिकीलाई पनि सजिलो बनाउने उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा पहिलो २५ र पछि ९ लाख गरी ३४ लाख बजेट उक्त सडक निर्माणका लागि दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button