तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण केन्द्रका ४६ गाई मरे

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् । संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअवधिमा बाघको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन् ।

श्रेष्ठका अनुसार दैनिकरुपमा गाई थपिने तर खानाको व्यवस्था हुन नसक्दा गाई मर्ने क्रम शुरु भएको हो । संरक्षण केन्द्र नजिक झाडी रहेकाले बाघले गाईलाई आक्रमण गरेपछि झाडी सफा गरिएको छ । झाडी सफा गरेपछि बाघले गाई आक्रमण गर्न छाडेको छ । संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन चार वटा सोलार जडान गर्ने तयारी गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

२०५ गाई रहेको संरक्षण केन्द्रमा ३० वटा गाई ब्याउने अवस्थामा रहेको छ । गाईलाई चोकर दाना घाँस र स्वच्छ खानेपानीको व्यवस्था गर्न कठिनाइ भएको छ । गाईलाई दिउँसोको समयमा चौरमा चराउन लैजाने गरिएको छ । परालमा रु दुई लाख खर्च भइसकेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार केन्द्रमा दिनदिनै गाई थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । गाईलाई पानी खुवाउनका लागि सोही ठाउँमा पोखरी खनिएको छ तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताउनुभयो ।

गाईले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुवो घाँससमेत खाएर सकाएका छन् । जसले संरक्षण केन्द्रको चौर बालुवामा परिणत भएको छ । संरक्षण केन्द्रमा रहेका गाईको हेरचाहका लागि दुई जना हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने गरेका छन् ।

नगरपालिकाको रु १७ लाख र स्थानीयवासीको रु तीन लाख गरी रु २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ ।

संरक्षण केन्द्र वरपर चरणका लागि जग्गा अभाव रहेकाले वडाभित्र र वडा बाहिर रहेका ठाउँको खोजी भइरहेको छ । नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि संरक्षण केन्द्र निर्माण गरिएको थियो । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक–पटक आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button