२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

ध्यान र योगका लागि नेपाल उपयुक्त:प्रधानमन्त्री

रेडियो नेपाल २०७६ असार ७ गते ९:५५

जुन २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । विश्वमा पाँच वर्षदेखि यस दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाइँदै आएको छ । नेपालमा पनि सन् २०१५ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घले यस दिनलाई योग दिवसका रूपमा घोषणा गरेको हो ।
हामीले व्यक्तिगत रूपमा हरेक दिनलाई योग दिवसका रूपमा मनाउँदै आएका छौँ । कसैले थाहा नपाउनु बेग्लै कुरा हो तर हजाराँै वर्षदेखि यो जीवनको अङ्गका रूपमा रहँदै आएको छ । हामी अलि तनावग्रस्त दुनियाँमा छौँ, भ्याउँदैनौँ । नभ्याउने कुराले झन् तनाव हुन्छ । त्यस कारण बिहान अलिकति समय निकाल्ने दिनभरि, हप्ताभरि, महिनाभरि, वर्षभरि र जीवनभरिका तनावबाट मुक्त हुने– त्यो नै योगको उद्देश्य हो ।
योग ऋषिमुनिकै पालादेखि
योगको अभ्यास लिपि र भाषा बन्नुभन्दा अगाडिदेखि हुँदै आएको हो । हाम्रा ऋषिमुनिले हजारौँ वर्ष अगाडि यस सम्बन्धमा चिन्तन मनन गरे । साधना गरे । खोज गरे । अध्ययन, अनुसन्धान गरे । हामी गीतामा योगको वर्णन पाउँछौँ । कृष्णले अर्जुनलाई उपदेश दिँदा योगको महìवका बारेमा बताउनुभएको छ । कृष्णले कपिलमुनिको गीतामा वर्णन गर्नुभएको छ । कपिलमुनिलाई पतञ्जलीको युगभन्दा पनि धेरै अगाडि देखिको मानिन्छ । त्यसभन्दा एक हजार ३०० देखि एक हजार ५०० वर्ष अगाडि द्वापरयुगमा कृष्णले अर्जुनलाई उपदेश दिँदा योगको बारेमा चर्चा गर्नुभएको थियो । पाँच हजार वर्षअघिको मोहनजोदाडो सभ्यतामा योगमुद्राका मूर्ति भेटिन्छन् । महाभारतकालीन, द्वापरयुग र त्रेतायुगभन्दा पनि अगाडि त्यसबेला योगमुद्रामा मूर्तिहरू मोहनजोदाडोमा भेटिन्छन् । विभिन्न उत्खननमा भएका मूर्तिहरूमा योग भेटिन्छन् ।
हामी पुराना वेद र प्राचीन शास्त्रमा गयौँ भने पनि योग र योगीको वर्णन गर्छ । जतिबेला चेतनाको हिसाबले अन्धकारलाई पनि अन्धकारले छोपेको थियो । त्यसबेला एउटा ज्ञानमय वाणी पैदा भयो ॐ भन्ने । ॐ बाट अहम्, भयम् आदिबाट भाषातिर गयो । सङ्केतबाट भाषातिर गयो दुनियाँ । भाषा सँगसँगै ज्ञान सङ्कलित हुन थाले ।

मैले धेरै ठाउँमा भन्ने गरेको छु, वेदका ऋचाहरूको रचना यहीँ भएको थियो । विभिन्न ऋषिमुनिले गण्डकी, कोसी किनारमा गरेका थिए । त्रेतायुगकालीन वाल्मिकीको आश्रम यहीँ छ । विश्वामित्र, वशिष्ट, कौशिकलगायत अन्य ऋषिहरू, व्यासको गण्डकी किनारमा वेदको अध्ययन, रचना, सङ्कलन गर्नुहुन्थ्यो । अहिलेसम्म सबैभन्दा पुराना मन्त्र वेदका हुन् । सबैभन्दा पुरानो लय वेदको लय हो । सबभन्दा पुराना छन्दहरू वेदका हुन् । वेद खाली वेद मात्रै होइन । छन्दको, लयको पनि सृष्टि भएको हो । र, वेदको सबैभन्दा प्रमुख मानिएको मन्त्र गायत्री मन्त्र कोसी किनारमा बसेर वशिष्ट ऋषिले रचना गर्नुभएको थियो ।
त्यसैले यस भूमिलाई तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि भनिन्छ । किनभने देवताहरू यहीँ बस्थे । यो देव भूमि हो र ज्ञानको सिर्जना यहीँ भएको थियो र यहीँबाट विस्तार भएको थियो । यसरी हामी गर्व गर्न सक्छौँ । योगलाई हाम्रा ऋषिमुनिले, जान्नेहरूले पहिलेदेखि आफ्नो जीवन पद्धति बनाए । ऋषिमुनि हे¥यौँ भने झरिला, भरिला देखिन्छन् । ती झरिला, भरिला किन छन् ? बेस्सरी मासुभात खाएर झरिला, भरिला भएका होइनन् । यी नियमले झरिला भरिला भएका हुन् । खानेको नियम, बस्नेको नियम, आहारको, बिहारको, आरामको, व्यायामको अथवा खानाको नियम । शारीरिक व्यायाम गरेपछि श्वास बढ्छ । अथवा शारीरिक व्यायामको प्रणायामसँग सम्बन्ध हुन्छ भन्ने कुरा जुन व्यायाम गर्नुस् श्वास बढ्छ । त्यसले प्रणायाम व्यायामसँग सम्बन्धित छ भन्ने देखाउँछ । व्यायामको प्राणसम्बन्धी आयामलाई प्रणायाम भन्छौँ । त्यो प्रणायाम त्यसले सम्पूर्ण रक्तसञ्चार मात्रै होइन मस्तिष्कमा उपयुक्त ढङ्गले अक्सिजन पु¥याउने र ताजा राख्ने काम पनि गर्छ ।
मानिसको विवेक
पशुपक्षीले जस्तो व्यवहार गर्नु प्राकृतिक पक्ष हो । राम्रो घाँस देखेपछि आफ्नो हो होइन, खान मिल्छ मिल्दैन मतलब नगरेर खान्छ ।
तर भोक लागे पनि मीठो खाने कुरा देख्दैमा मान्छेले खाइहाल्दैन किनभने उसको मस्तिष्कले काम गर्छ । उसले विचार गर्छ यो खाने कुरा मेरो हो कि होइन ? मेरो हक लाग्ने अवस्था छ कि छैन ? त्यो बेच्न राखेको हो भने किन्ने पैसा मसँग छ कि छैन ? मलाई उधारो त्यस व्यापारीले पत्याउँछ कि पत्याउँदैन ? सबै हिसाब गर्छ । नत्र भोक लाग्यो भन्दैमा खाँदैन ।
तपाईं मेरो घरमा आउनुहुँदा स्वादिष्ट खाना बनेको छ र तपाईंलाई भोक लागेको छ । म तपाईंलाई खाना खाउँ भन्छु तपाईं घरमै खान्छु भन्नुहुन्छ । तपाईं किन त्यसो भन्नुहुन्छ भनेर विचार गर्नुस् त । प्राकृतिक पक्ष भनेको त भोक लागेपछि खानु हो तर तपाईंलाई त्यो प्राकृतिक पक्ष खाउँ खाउँ लागेको त थियो भन्ने हुन्छ । त्यो मनको पक्ष भन्छौँ हामी । मस्तिष्कको पक्ष, सामाजिक अनुशासनको पक्ष पनि छ ।
हृदयबाट होइन, मस्तिष्कबाट बोलिन्छ
कसैले भन्छ, म मस्तिष्कले होइन मनले काम गर्छु । म हृदयबाट भन्छु, हृदयबाट बोलिँदैन । हृदयचाहिँ मस्तिष्क जस्तो होइन । चेतना हृदयमा होइन मस्तिष्कमा हुन्छ तर त्यसको परिपक्क पाटोचाहिँ मस्तिष्कले दिन्छ । त्यो मस्तिष्कलाई हामीले हरदम शान्त, सामाजिक थिति, प्रबन्ध, मानवीय सभ्यताको उचाइमा उठेको सभ्य र त्यस स्थितिमा राख्न सक्नुपर्छ । लोभ, पाप, काम, क्रोधबाट मुक्त भन्छ नि त्यो भनेको त्यही हो । खासगरी ईष्र्या, अतृप्ति, अहङ्कार जस्ता कुराबाट आज दुनियाँ नराम्ररी ग्रस्त छ । युद्ध किन भइराखेको छ ? कसैले अरूको आफ्नो अहङ्कार वा स्वार्थका निम्ति अरूका हक अधिकार, अरूका स्वभाविक नैसर्गिक अधिकारहरू, बाँच्न पाउने हकहरू तिनीहरूको कदर गर्ने हो भने अरूको अधिकारको कदर पूर्ण रूपमा गर्ने हो भने समस्या कहीँ पनि आउँदैन । मान्छेले उचित, अनुचित छुट्याएर उचित मात्र कदम चाल्दिने हो भने समस्या आउँदैन तर मान्छे उचित होइन अहङ्कार पूर्तिका निम्ति कदम चाल्छ, स्वार्थ पूर्तिका निम्ति कदम चाल्छ । त्यसो भएर समस्या आउँछन् । त्यसलाई नियन्त्रण कसरी गर्ने त ? असहिष्णुताबाट कसरी जोगिने त ? त्यसलाई ध्यान दिएर, नियन्त्रण गर्छ । यसर्थ ध्यानको महìव छ ।
नेपालमा योग दिवस २०३६ सालबाट
नेपालमा संस्थागत तवरमा ०३६ सालतिरबाट योग दिवस मनाउन थालेको हो । यद्यपि व्यक्तिगत रूपमा धेरै पहिलेदेखि नै यो मनाइँदै आइएको थियो । २०७२ सालबाट हामीले राष्ट्रिय योग दिवस विधिवत् रूपमा मनाउने ग¥यौँ । यो राम्रो कुरा हो । आज हामी अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौँ । तर यसको अर्थ राष्ट्रिय योग दिवस हुनुहुँदैन भन्ने होइन । योगको उत्पत्ति भएको ठाउँमा राष्ट्रिय योग दिवस हुन्छ नै ।
ध्यान दिवस होइन बुद्ध जयन्ती
ध्यान दिवसलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुरा उठाइएको छ । त्यसको अर्थ र महìवलाई म बुझ्छु । एउटा मात्रै कुरामा अलिकति ध्यान दिनुपर्छ । बुद्ध जन्मिएको वा बुद्धले ज्ञान प्राप्ति गरेको भनेको अथवा महापरिनिर्वाण प्राप्त गरेको दिनलाई ध्यान दिवस हामीले भन्यौँ भने दुनियाँमा ध्यान दिवस जान्छ । बुद्धको जन्म, ज्ञान र मृत्यु त्रियोग दिवस हो, त्यो दिवस जो संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा पारित गरेर वैशाख २ भनेर सन् २००० देखि मनाउने गरेको छ ।
दुनियाँमा विभिन्न धर्मका पनि रस्साकस्सी चलिराखेको छ । अन्तर्राष्ट्रिय ध्यान दिवस भनेर बुद्ध जयन्तीलाई ओझेलमा पार्न पाइयो भने त्यो पनि कोसिस हुनसक्छ । त्यस कारण ध्यान दिवसलाई छुट्टै दिनको रूपमा हामीले मनाउन जरुरी हुन्छ । बुद्ध मानव जातिका यस्ता सपुत सन्तान हुन्, यस्ता महानायक हुन् जसलाई विश्वले भगवान् मानेको छ । जसका विचार, सन्देशहरू यति वर्षपछि पनि अझ ताजा भएर, अझ धेरै मानिसलाई प्रभावित गरेर आइरहेको छ । त्यस्तो बुद्ध जुन नेपालमा जन्मिएका हुन् । ती बुद्ध उनलाई ओझेलमा पर्न दिनुहुँदैन । बुद्धलाई ओझेलमा नपारीकन अरू काम गर्नुपर्छ ।
यसका निम्ति हामीले केही काम गर्न बाँकी छ । एउटा राष्ट्रिय ध्यान केन्द्र बनाउने कि विश्व ध्यान केन्द्र बनाउने ? ध्यानका सर्जक नै हाम्रा पुर्खा हुन् । त्यस कारण नेपालमा विश्व ध्यान केन्द्र स्थापना गर्न सकिन्छ । ध्यान र योगको सम्बन्धमा आजकल योग अब योगा हुन लागिसक्यो । लगभग योग योग भन्दा योगा हुन लागिसक्यो । जेसुकै होस् आकार लाउनु र नलाउनुले केही छैन, कुरा एउटै हो ।
क्रोधबाट बच्न योग
योगका सबै पक्षहरू नेपालले जति अरूले बुझ्दैन । यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिदैँन । यहाँको पानीको जति योग बुझ्न अन्यत्रको पानीले दिँदैन । यहाँको वातावरणले जति योग अन्यले बुझ्दैनन् । एसीमा बस्नु र प्राकृतिक शीतल हावामा बस्नु फरक कुरा हो । एसीमा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जो प्राकृतिक शीतल हावामा बसेर हुन्छ । छानामुनि पनि शीतल हुन्छ, बोधीवृक्षमुनि पनि शीतल हुन्छ । किन बुद्ध छानामुनि नबसेर बोधीवृक्षमुनि बस्नुभयो ? फरक छ ।
त्यस कारण यो ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, देवभूमिलाई त्यसैगरी हामीले अगाडि बढाउनुपर्छ । देशलाई आग्रह उत्तेजनातिर होइन समृद्धि र सभ्यतातिर लैजानुपर्छ । आज अलिकति देशलाई आग्रह, उत्तेजना, आवेश र कसैका स्वार्थका लागि त्यतातर्फ लान खोजिएको छ । देशलाई अब समृद्धितिर, सभ्यतातिर, सुसङ्गत परिपाटीतिर लैजानुपर्छ नकि क्रोधतिर, उत्तेजनातिर, आवेशतिर । क्रोधमा भएपछि त माया गरेको श्रीमतीलाई पड्याङ हिर्काइदिन्छ । भनेपछि त्यो पागलपन भएन ? रिस उठेका बेला आमाले आफ्नो अत्यन्तै प्यारो छोराछोरीलाई चड्याम्म चड्काउँछ । त्यो के गरेको भनेको मन स्थिर नभएर हो । रिसै उठेको भए पनि त्यो बच्चा शत्रु हो र ? त्यसलाई ठ्याम्म हिर्काइदिन्छ । किन भने क्रोध भनेको त्यस्तो कुरा हो । आफ्नै सन्तानलाई सबभन्दा बढी माया गरेको सन्तानलाई पनि हिर्काइदिन्छ । त्यस कारण क्रोधबाट बच्न योगमा जाउँ ।
मनको योगी बन्नुस् वस्त्रको होइन
अस्वस्थ शरीर, अस्वस्थ मन वचन, अस्वस्थ मानसिकताबाट बच्न योगमा जाउँ । योग दिवस देशभरि सञ्चालन भइराखेको छ । यो योगीहरूको, कर्म योगीहरूको देश हो । नेपाललाई कर्मयोगीको देश बनाउनु पर्दछ । योगका विभिन्न पाटा छन् । ती पाटामध्ये हामी आमजनताको पाटो कर्मयोग हो । योग पनि गर, कर्म पनि गर । योग दिवसको दिन हामी सबैलाई मनका योगी बन्न आग्रह गर्दछु । म तपाईंहरू वस्त्र धारण गर्नुस् भन्दिनँ । मनको योगी हुनुस् वस्त्र आफ्नो खुसी हो ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असार ६ गते विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश )

साभार:गोरखापत्र अनलाइन

सम्बन्धित