तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा व्यासको १०८ फिटको मुर्ति बनाईने

तनहुँ । महाभारत, १८ पुराण र श्रीमद् भागवतका रचयीता महर्षि वेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माण गरिने भएको छ । व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा दमौलीमा प्रस्तावित व्यास मुर्तिको संरचना डिजाईन तथा अन्य विशेषज्ञ सेवा सम्बन्धि संक्षिप्त विवरण प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
व्यास क्षेत्र शिव पाञ्चायान मन्दिर विकास कोषको सक्रियतामा व्यास गुफा नजिकै महर्षि वेदव्यासको पूर्णकदको मुर्ति स्थापना गर्न लागिएको हो । व्यासको १०८ फिटको मुर्ति बनाउन ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने र उक्त मुर्ति निर्माण कार्य ४ वर्षमा सम्पन्न हुने अर्थक्येक सेफ्टी सोलुसन कम्पनीका प्रमुख कार्यकारी निर्देशक देवकुमार महर्जनले बताउनुभयो । १ वर्षमा ७ करोड रुपैयाँको लागत छुट्टाएर ४ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ । निर्माण सुरु भएको डेढ वर्षमा मुर्तिको पाउँसम्मको भाग निर्माण सकिने महर्जनले जानकारी दिनुभयो ।
व्यास गुफा र पवित्र मादिसेती नदीको दोभान क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्ने गुरु आयोजना अन्र्तगत व्यास गुफा परिसरमा वेदव्यासको पूर्णकदको मुर्ति निर्माण गर्न लागिएको हो ।
व्यासले वेदलाई चार भागमा विभाजित गरेकै कारण उनलाई वेदव्यास भनिएको हो । हिन्दु धर्ममा श्रीमद् भागवत महापुराणको कुशल पण्डित मानिएका सुकतिर्थ महर्षी बेदव्यासका छोरा हुन् । दैनिक हजारौ पर्यटकले भारतमा रहेको सुकतिर्थ धामको दर्शन गर्ने गरेपनि प्रचारप्रसारको अभावमा वेदव्यासको जन्मभुमी व्यासक्षेत्र दमौली भने ओझेलमा परेको काशीनाथ न्यौपानेले बताउनुभयो ।

व्यासको मुर्तिको डिजाइन टुंगियो
एक दशक अगाडिदेखि चर्चा चलेको महर्षि वेदव्यासको मुर्ति निर्माण कार्यलाई अगाडि बढाउने तयारी गरिएको छ । मुर्ति निर्माण गर्ने भनि महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिएको थियो । मंगलबार आयोजित कार्यक्रममा व्यासको १०८ फिटको मुर्तिको डिजाइन समेत टुंगिएको छ ।
प्राविधिकहरुले व्यास क्षेत्रमा जमिनको बनोट, त्यहाँ रहेको महत्वपूर्ण वस्तुहरु कसरी जोगाउने, महत्व हेरेर फाल्नुपर्ने संरचना फाल्ने लगायतका काम गरेर अन्तिम रुप दिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो । व्यास क्षेत्रमा पुराना पुरातात्विक महत्व बोकेका कलात्मक शिला, व्यास गुफा, विभिन्न मन्दिर लगायत संरक्षण गर्नुपर्ने सम्पदाको संरक्षण कसरी गर्ने त्यसको समेत सर्भे गरिएको छ ।
व्यासको मुर्तिभित्र फलामे हड्डी र बाहिर तामाबाट निर्माण हुने अर्थक्येक सेफ्टी सोलुसन कम्पनीका प्रमुख कार्यकारी निर्देशक देव कुमार महर्जनले बताउनुभयो । ३० देखि ३५ हजार किलो तामा उक्त मुर्ति निर्माण गर्न आवश्यक पर्ने महर्जनले बताउनुभयो । उक्त मुर्ति निर्माणको लागि ६० रोपनी ६ आना ३ पैसा क्षेत्रफल आवश्यक पर्ने महर्जनले बताउनुभयो । मुर्ति निर्माणका लागि विश्वको विभिन्न देशमा निर्माण भएका अग्ला(अग्ला मुर्तिहरुको बारेमा अध्ययन गरिएको उहाँले बताउनुभयो ।
उक्त क्षेत्रमा वृतचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगंघा पार्क, क्याफेटरिया, चमेना गृह, पुजारी घर, साना २७ वटा व्यासका मुर्तिहरु लगायत हुनेछ ।
सबै रकम एकपटक नआउने हुदाँ क्रमै संग काम अगाडि बढाउनु पर्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । मुर्ति निर्माण स्थलको बारेमा पहिले विवाद रहेको तर अहिले सो विवाद मिलिसकेको न्यौपानेले बताउनुभयो । व्यासको मूर्तिको स्वरुपको विषयमा पछि प्रश्न उठ्न सक्ने भएको हुदाँ व्यासको बारेमा जाने बुझेका विद्वानहरुसंग छलफल गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button