तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका माझी परिवारलाई निःशुल्क मिटर जडान

पाल्पा । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले अति बिपन्न घरमा विद्युत पुर्याउने सरकारको नीति अन्तर्गत पाल्पा जिल्लाभर अति विपन्न तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर जडान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बगनासकाली गाउँपालिका वार्ड नं. ६ यम्घाको दर्पुक गाउँको माझी बस्तीमा रहेका १५ जना अति विपन्न माझी परिवारलाई निःशुल्क मिटर वितरण गरेको छ । माझी परिवारले विद्युत मिटरका साथै सर्भिस केवुल समेत निःशुल्क पाएका छन् ।
पाल्पा वितरण केन्द्रका कार्यालय प्रमुख रामु श्रेष्ठले हालसम्म करिव ४ सय अति विपन्न र गरिव परिवारलाई निःशुल्क मिटर वितरण गरिएको बताउनुभयो । मिटर निःशुल्क प्राप्त गरे तापनि मासिक उठ्ने बिजुलीको बिल भने उपभोक्ताले तिर्नुपर्ने हुन्छ । विजुलीको बिल तिर्न मोबाइलमा ई–सेवा राखी वा गाउँमै रहेको कम्प्युटर पसलबाट बिजुलीको बिल तिर्न सकिने व्यवस्था मिलाईएको छ ।
माझी परिवारमा निःशुल्क मिटर जडान गरेकोमा प्राधिकरणलाई धन्यवाद दिँदै बगनासकाली यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले गाउँपालिकाले समुदायलाई टिनको छानो छाउन सहयोग गर्ने बताउनुभयो । वितरण केन्द्रका प्रशासन प्रमुख चतुर्भुज गौतमले नागरिकता, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, फोटोसहित धरौटी रकम बुझाएपछि मिटर पाइने जानकारी दिनुभयो । मठमन्दिर लगायत साँस्कृतिक सम्पदाहरुको हकमा भने समितिको निर्णय र सिफारिस चाहिने पाल्पा वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button