तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्धारा फ्रान्सेली समकक्षीसंग भेटवार्ता

काठमाडौ- मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका फ्रान्सका समकक्षी बिच आज औपचारिक भेटवार्ता सम्पन्न भएको छ । राजधानी पेरिसमा सम्पन्न भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने फ्रान्सेली प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका प्रधानमन्त्री फिलिप एडुवार्डले गर्नुभएको थियो ।

भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई,मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत सहभागी हुनु भएको हाम्रा प्रतिनिधि नरेश फुयाँलले जानकारी दिनुभयो ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्समा रहनु भएका व्यवसायीहरुलाई सम्बोधन गर्नुहुदैं नेपालमा हरेक क्षेत्रमा लगानीको सम्भाव्यता रहेकाले व्यवसायीहरुलाई लगानी गर्न आह्वान गर्नुभयो ।प्रधानमन्त्री ओलीले नेपालका हरेक क्षेत्रमा लगानीको सम्भावना रहेको र लगानी सुरक्षित तथा नाफादायी हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको कला,संस्कृती र पहिचान उत्कृष्ठ भएकाले बढीभन्दा बढी पर्यटक भित्रयाउन नेपाल भ्रमण वर्ष सन् २०२० को आयोजना गर्न लागेको जानकारी दिनहुदैं फ्रान्सका नागरिकहरुलाई नेपाल भ्रमणमा आउन पनि आग्रह गर्नुभयो । फ्रान्सको इतिहासवाट आफूले धेरै कुरा सिकेको बताउनुहुदैं प्रधानमन्त्री ओलीले नेपाल पनि विकासतर्फ अग्रसर रहेकाले मित्र राष्ट्रवाट धेरै कुरा सिक्न चाहेको बताउनुभयो । प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण पुरा गरि हिजो फ्रान्सको राजधानी पेरिस पुग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button