तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वका चार जिल्लामा पेट्रोलियमको अभाव,कालोबजारी बढ्यो

भद्रपुर । भारतले अनलाइनबाट भन्सार ‘इन्ट्री सिस्टम’ लागू गरेसँगै चाहिएजति पेट्रोलियम पदार्थ भित्र्न नसक्दा झापासहित पूर्वका चार जिल्लामा पेट्रोलियमको आपूर्ति नियमित बन्न सकेको छैन ।
दुई सातादेखि यी जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति अनियमित छ । सीमावर्ती पश्चिम बंगालको पानीट्यांकी नाकामा लामबद्ध नेपाली ट्यांकरहरु अनलाइन इन्ट्री सिस्टमका कारण एकैसाथ भित्र्न नपाएको नेपाल आयल निगम चारआली कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सनम कार्कीका अनुसार पानीट्यांकी कस्टममा अनलाइन सिस्टममा प्राविधिक कठिनाइ देखिएपछि नेपाली ट्यांकरको अनलाइन विवरण दर्ता हुन नसक्दा ५० भन्दा बढी ट्यांकर पानीट्यांकीमै रोकिएका छन् । निगमको अनुरोधमा एक साताअघि म्यानुअल सिस्टमबाटै इन्ट्री गरी केही ट्यांकर भित्रिए पनि त्यसपछि कस्टमले म्यानुअल सिस्टममा इन्ट्री गर्न नसक्ने जनाएपछि पूर्वका चार जिल्लामा पेट्रोलियम आपूर्ति ठप्प भएको प्रमुख कार्कीले बताउनुभयो ।
उहाँले, अनलाइन सिस्टमको प्राविधिक समस्या समाधान हुनेवित्तिकै पेट्रोलियम बोकेका नेपाली ट्याकंर भित्रिने र आपूर्ति सहज हुने जानकारी दिनुभयो ।
यसरी, पम्पहरुमा पेट्रोलियम पदार्थ उपलब्ध नभएपछि उपभोक्ताहरु सडक र किराना पसलमा एक लिटरको १५० रुपैयाँसम्ममा पेट्रोल किन्न बाध्य भएका छन् ।
पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button