तपाईँ सुन्दै हुनुहुन्छः

काँङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

काँङ्ग्रेसले नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै सङ्घीय संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएको हो ।

काङ्ग्रेसका सांसदहरु डिला सङ्ग्रौला (पन्त) प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने बेला पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको जनाइएको छ ।

साथै वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा विभिन्न मुलुकमा ८२१ कामदारको मृत्यु भएकाले नेपालीलाई विदेश जानु अघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था शुरु गर्न नेपाली दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने विषयमा समेत छलफल हुनुपर्ने प्रस्तावमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button