तपाईँ सुन्दै हुनुहुन्छः

विकास वातावरणमैत्री हुनुपर्छ :प्रधानमन्त्री

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभयो ।

मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुनुपर्ने सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिमतर्फ सजग रहन उहाँले अनुरोध गर्नुभएको छ ।

विकास र संरक्षणबीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुने भन्दै उहाँले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस खालको प्रगति दिगो र सबैका लागि उपयोगी नहुने उक्त सन्देशमा उल्लेख गर्नुभएको छ ।

वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत सबैले वातावरणको स्वच्छता कायम गर्नुपर्ने सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button