तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षपछि रुम्जाटारमा उडान

ओखलढुंगा-ओखलढुंगाको रुम्जाटार विमानस्थलमा शुक्रबारबाट नियमित उडान सुचारु भएको छ । करिब तीन वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल रुम्जाटार विमानस्थल आज शुक्रबार देखि पुन: सुचारु भएको हो ।

नेपाल एरलाईन्सको विमानले आज दिउँसो रुम्जाटार विमानस्थलमा उडान भरेको छ । हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने योजनाका साथ आजबाट रुम्जाटारमा हवाई सेवा सुरु गरिएको नेपाल एरलाईन्सका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिनुभयो । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासन सँग समन्वय गरेर थप अरुदिन पनि उठान भरिने प्रबन्धक पुरीको भनाई छ । पुरीका अनुसार हरेक शुक्रबार काठमाण्डौ–रुम्जाटार– विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डौ उडान भर्ने नेपाल एरलाईन्सको तयारी छ । आज पहिलो दिन भने काठमाण्डौबाट यात्रु लिएर आएको विमान फेरि काठमाण्डौ नै फर्किएको छ । रुम्जाटारबाट विराटनगर जाने कार्यसुचि भएपनि कोही यात्रु नभएकाले विमान सिधै काठमाण्डौ फर्किएको छ ।

सांसदहरु यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, मोहन खड्का लगायतका व्यक्तिहरु विमानमा रुम्जाटार आउनुभएको थियो । विमान सुचारुहुने जानकारी पाएपछि रुम्जाटार पुगेका जिल्ला स्थित सरोकारवालाले अब नियमित उडान गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघिय राजधानी काठमाण्डौ र प्रदेश राजधानी विराटनगरलाई जोडेर हवाईसेवा सुरु गरिएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताउनुभयो ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धन सँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाई छ । प्रदेश सांसद गुरुङ सहित जिल्लाका जनप्रतिनिधि र प्रशासनको पहलमा रुम्जाटार विमानस्थल पून सुचारु हुने भएको हो ।
रुम्जाटारमा नियमित सुचारु भएपछि जिल्लाबासी हर्षित भएका छन् । उडान नियमित भएपछि स्थानीयलाई निकै सहज भएको रुम्जाटारका स्थानीय राजन घलेले बताउनुभयो । दिनभर सडक यातायातमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भए जिल्लाबासीलाई आवत जावतमा सहजता हुने उहाँको भनाई छ ।

रुम्जाटारमा नियमित उडान भए पर्यटक भित्राउन समेत सहज हुने पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताउनुभयो । सगरमाथा आरोही शेर्पाले वार्षिक हजारौं पर्यटक ल्याउन सकिने बताउनुभयो । सडक यात्रायात भरपर्दो नभएकाले हवाई सेवा नियमित भए पर्यटक ल्याउन सकिने उहाँको भनाई छ । लामो समय सम्म विमानस्थल सुचारु नहुँदा जनप्रतिनिधिको आलोचना हुन थालेको थियो । लामो समय पछि शुक्रबारबाट सुचारु भएको हवाई सेवालाई नियमित सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button