तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने प्रतिबद्धता

अर्जुन श्रेष्ठ । संघीय मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरुले सुशासन कायम राख्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज काठमाडौंमा गरेको ‘सेवा प्रवाह र विभागीय कारवाही’ विषयक अन्तरक्रियामा विभागीय प्रमुखहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको हो ।

छलफलमा प्रशासकीय अदालत एवम् उच्च स्तरीय प्रशासन सुधार अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले प्रशासकीय सुशासन कायम राख्न सेवा प्रवाहमा विभागीय कारवाही विधिसम्मत र कडाईका साथ लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रचलित ऐनले विभागीय प्रमुखमा आचरण विपरीत काम गर्नेहरुलाई कारवाही गर्ने अधिकार दिएकाले आचरण विपरीत काम भए विधि र प्रक्रियासम्मत ढंगबाट कारबाही गर्न सुझाव दिनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले केही कर्मचारीका कारण निजामती सेवाकै बदनाम भइरहेकाले सुशासन कायम गर्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो ।

समितिले कर्मचारी सेवा प्रवाह र कर्मचारी समायोजनका विषयमा थप निर्णय लिन मन्त्रीको उपस्थितिमा सचिवस्तरीय छलफलसमेत गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button