तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी चीनको सियानमा

सियान (चीन) । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी जिन पिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न चीनको सान्सी प्रान्तको राजधानी सियान पुग्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तका विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

यस अघि चीनतर्फ प्रस्थात गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्षले बिदाई गर्नु भएको थियो ।

त्यस अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसद, सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले भोलीदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लगायत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button