तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट जङ्गी अड्डाको नयाँ भवन उद्घाटन

काठमाण्डौ । राष्ट्रपति विद्यादेबी भण्डारीले नेपाली सेनाको नव निर्मित मुख्यालय जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ ।
भुकम्पपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट स्वीकृत भएका मध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङगबाट निर्माण सम्पन्न भएको जङ्गी अड्डा भवन नै सबैभन्दा ठुलो आयोजना हो । २०७३ जेठ २४ गते निर्माण शुरु भएको भवन दुई वर्ष १० महिनाको अवधिमा तयार भएको हो ।

उद्घाटन कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कठिन र चुनौती पूर्ण विकास निमार्णका काम गर्ने क्षमता सेनामा रहेको बताउँदै सेनाको मुख्यालय भवनको काम समय सिमाभित्रै निर्माणको काम सम्पन्न गरेकोमा प्रशंसा गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भुकम्पपछि खुम्चेर काम गर्नु परेपनि छोटो समयमै उच्च गुणस्तरीय ढङ्गबाट मुख्यालय भवन निर्माण भएपछि जड्गी अड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुने बताउनुभयो ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणबाट स्वीकृत भएका मध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङगबाट निर्मार्ण सम्पन्न भएको जङ्गी अड्डा भवन नै सबैभन्दा ठुलो आयोजना भएको जानकारी दिदै सेनाले अब विपत ब्यवस्थापनमा थप उर्जाका साथ काम गर्नेमा विश्वास रहेको बताउनुभयो ।

नयाँ भवनबाट दैनिकरुपमा एक हजार सैनिक जनशक्तिले कार्य सम्पादन गर्न सक्ने इन्जिनियरिङ विभागका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले जानकारी दिनुभयो ।

भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ । सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।


उद्घाटन कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता े थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button