तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ को हिउँदे अधिवेशन आज अन्त्य हुँदै, वैशाख ३० मा वजेट अधिवेशन

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको हिउँदे अधिवेशन आज मंगलबारबाट अन्त्य हुने भएको छ ।
गत चैत्र १७ गतेबाट सुरु भएको हिउँदे अधिवेशन २४ दिनसम्म चलेर मंगलबार रातिबाट अन्त्य हुने भएको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशको तेस्रो अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
यसैगरी वर्षे (बजेट) अधिवेशन बैशाख ३० गते दिउँसो १ बजे आह्वान गर्न प्रदेश प्रमुख अनुराधा कोईराला समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
प्र्रदेशको तेस्रो अर्थात् हिउँदे अधिवेशनबाट ४ वटा विधेयक पारित भएको छ । हिउँदे अधिवेशनबाट सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी संशोधन गर्न बनेको विधेयक–२०७५, प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५, प्रदेश सभाका सदस्य तथा पदाधिकारीले पारिश्रमिक र सेवा सुविधा सम्बन्धी ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सहकारी सम्बन्धी विधेयक–२०७५ पारित भएका छन् । त्यस्तै हिउँदे अधिवेशनबाट केही विधेयकहरु विभिन्न समितिमा छलफलका लागि पठाईएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button