तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा घरमै सामाजिक सुरक्षा भत्ता

हेटौंडा । उत्तरी मकवानपुरको बिकट कैलाश गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणको कार्य घर–दैलोबाटै सुरु गरेको छ ।
एक वर्ष अगाडि गाउँपालिकाको केन्द्रमा पहिलो पटक बैंक पुगेपछि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएकोमा आइतबारदेखि घर–दैलोबाटै बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको हो । आइतबार कैलाश गाउँपालिका वडा नम्बर ३ स्थित घुमाउनेमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ३ र ४ का जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पायक पर्ने स्थान घुमाउनेमा वितरण गरिएको ३ नम्बरका वडा अध्यक्ष देवलाल लामाले जानकारी दिनुभयो । सरकारी सेवा घरदैलोमै दिने उद्देश्यसहित घरदैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको अध्यक्ष लामाले बताउनुभयो । “नागरिकलाई घरमै सरकार आएको महसुस हुनुपर्छ । कम्तिमा जनप्रतिनिधि आएपछि नागरिकले केही सहज महसुस गरुन भनेर घरमै सामाजिक सुरक्षाभत्ता वितरण अभियान थालेका हौं”, वडा अध्यक्ष लामाले भन्नुभयो । “बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक र अपाङता भएका व्यक्तिहरुको हकमा घरमै समेत पुगेर वितरण ग¥यौं ।”

आफ्नै घरमा सामाजिक सुरक्षाभत्ता पाउँदा जेष्ठ नागरिक निकै खुशी भएका छन् । “डाँडापाखा भएकाले पहिला बैंकसम्म पुग्न निकै असजिलो हुन्थ्यो । ३ नम्बर वडामै पालिकाको मुकाम तथा बैंकको कार्यालय भएपनि ३ घण्टा हिँडेर सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने बाध्यतालाई निराकरण गरेका हौं”, वडाअध्यक्ष लामाले भन्नुभयो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा अध्यक्ष लामासहित वडासदस्यहरु, वडासचिव तथा सानीमा बैंकका कैलाश शाखाका प्रतिनिधिको टोली पुगेको थियो ।

स्थानीयबासी १ सय २ वर्षीय मानबहादुर गोलेले सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी व्यक्त गर्नुभयो । “हामीजस्ता जेष्ठ नागरिकको सुविधाका लागि घर–दैलोमै सामाजिक सुरक्षाभत्ता दिन शुरु गरियो । यो धेरै राम्रो छ । जनप्रतिनिधिहरुले यस्तै काम गर्दै जाउन”, उहाँले भन्नुभयो, “हामीले भोट दिएर जिताएका प्रतिनिधिले हाम्रो सजिलोका लागि गरेको कामबाट हामी खुसी भएका छौं ।” “एकजना साथमा लिएर जानुपथ्र्यो अथवा छोरालाई भन्नु पथ्र्यो । सधैं भन्ने बेलामा साथी पाईन्थ्यो । अहिले घरमै सामाजिक सुरक्षा भत्ता पाईयो । निकै खुसी लाग्यो”, अर्का जेष्ठ नागरिक ऋषिराम प्रजाले भन्नुभयो ।
त्यस्तै जेष्ठ नागरिक पातलीमाया थिङ्ले गाँउमै भत्ताको रकम पाउँदा सहज भएको बताउनुभयो । विगतमा बैंकसम्म पुग्नकै लागि ३÷४ घण्टा बढी समय लगाएर हिँड्नुपरेको बाध्यता सुनाउँदै उहाँले भननुभयो, “पाँच मिनेटको बाटो हिँडेर गाँउमै भत्ताको रकम पाएका छौं, भत्ताका लागि पालो कुर्नुपर्ने झन्झट समेत भएन । जनप्रतिनिधिले जनताको काम गर्छन् भन्थे हो रैछ । हामीलाई यस्तै खालको सहयोग गर्यो भने पुग्यो । यसमै खुसी छौं”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको १० वटा वडा मध्ये वडा नम्बर ३ वाट बैंकिङ प्रणालीबाट भत्ता वितरणको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । जेष्ठ नागरिक र अपाङता भएका व्यक्तिहरुलाई सहज किसिमबाट भत्ता उपलब्ध गराउन घर–दैलोमै बैंकका प्रतिनिधिलगेर बैंकिङ प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो । आइतबार ३ र ४ नम्बर वडाको पायक पर्ने स्थान घुमाउनेमा बैंकको प्रतिनिधिलाई लगेर बैंकिङ प्रणली अनुसार नै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

निर्वाचनका बेला नागरिक सामु गरेको वाचा अनुसार घर–दैलोमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको उहाँको दावी छ । गाउँपालिकामा ज्येष्ठ नागरिक, अपाङता भएका, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता पाउने १ हजार ५ सय भन्दा बढी छन् । आइतबार १ सय ७० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मोक्तानले जानकारी दिनुभयो । १० लाख ८० हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button